काभ्रे बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २१ घाइते


बनेपा । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना भएको हो । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ । बसमा ३९ जना सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको अधिकारीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल पुर्याइएको छ ।

अस्पताल दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन ।

गम्भीर प्रकृतिका घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव धुलिखेल अस्पतालमा लगिँदैछ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको बेथानचोकमा चलालगणेशस्थानमा भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका हुन् । प्रजिअ पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भने मन्त्रालयमा लेखी पठाउन निर्देशनसमेत दिइएको छ ।