प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार अपरान्ह राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।

भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका छन् । निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।