सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए ।
उनका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो ।

प्रतिक्रिया