भूकम्पमा परी बैतडीमा एक जनाको मृत्यु


बैतडी । गएराति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् ।

हरिको गएराति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए ।

उनले भने, “भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।” मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप २० हजार रुपैयाँ र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए ।

उनले भने, “आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ ।”

गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे ।