काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने चेतावनी दिएका हुन् ।
उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए । उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताए ।
अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे । आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे ।
उनले भने,‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । म आज संसदमा एक्लै छु । देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने ताकतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु । यो संसदमा मलाई साथीहरु चाहियो ।’ अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरिपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे ।

प्रतिक्रिया