इलोन मस्क कानुन भन्दा माथि छैनन् : एफटीसी


एक अमेरिकी नियामक निकायले गोपनीयता एवं नियम पालना हेर्ने उच्च अधिकारीहरूले ट्विटर छोडेपछि गहिरो चिन्ताका साथ घटनाक्रमहरू नियाली रहेको जनाएको छ ।

द फेडेरल ट्रेड कमिसन (एफटीसी)ले ट्विटरका नयाँ प्रमुख कार्यकारी इलोन मस्क कानुन भन्दा माथि नभएको उल्लेख गरेको छ । मस्कले कर्मचारीहरू समक्ष ट्विटर पनि टाट पल्टने सम्भावनाभन्दा बाहिर नभएको बताएको समाचारमा जनाइएको छ ।

गत साता मस्कले हजारौँ कर्मचारीहरूलाई बर्खास्त गर्न थालेपछि कम्पनी अस्तव्यस्त भएको बताइएको छ । ट्विटरको निलो टिकसहितको प्रमाणित खाता किन्न सक्ने व्यवस्थाले उक्त माध्यममा नक्कली खाताहरूको सङ्ख्या बढ्न सक्ने चिन्ता चुलिएको छ ।

गोपनीयता सम्बन्धी प्रमुख अधिकारी डेमिअन किरन र नियम पालना सम्बन्धी प्रमुख अधिकारी मेरिआन फोगर्टीले राजीनामा दिएका छन् । कम्पनीका प्रमुख सुरक्षा अधिकारी ली किस्नरले पनि राजीनामा दिएको उल्लेख गरिएको छ।

उनीहरूले ट्विटर छोड्नुले नियामक आदेशहरू उल्लङ्घन गर्ने जोखिम बढाउन सक्छ । प्रयोगकर्ताको डेटा बिक्री गरेका कारण यस कम्पनीलाई गत मे महिनामा १५ करोड डलर जरिवाना तिराइएको थियो। त्यस्तै गोपनीयताका नयाँ नियमहरू पालनाका निम्ति सहमति जनाउनु परेको थियो।