नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन् । उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन् । त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन् । चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत हुन् ।
त्यस्तै त्रिपाठीले नेकपा एमालेको समर्थनमा उम्मेदवारी दिएका छन् । यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन् ।
यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा छैनन् । मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन् ।
विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएका थिए । अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिएका छन् ।
यो निर्वाचन क्षेत्रमा दलका ११ र ७ स्वतन्त्र गरी १८ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उम्मेदवारको संख्या धेरै भए पनि चुनावी प्रतिस्पर्धा त्रिपाठी र चौधरीबीच नै बढी हुने आँकलन स्थानीयको छ ।
यता उद्योगपति चौधरीले जिल्लाका नेतालाई बाइपासगर्दै पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको बलमा टिकट ल्याएपछि कांग्रेसभित्र पनि ब्यापक असन्तुष्टि छ ।
पार्टीभित्रको असन्तुष्टिबाहेक गठबन्धनको सहमति विपरीत कांग्रेसले त्यस क्षेत्रको प्रदेशसभा ‘ख’मा उम्मेदवारी दिएपछि गठबन्धनकै खटपटले पनि चौधरीलाई चुनाव आफ्नो पक्षमा पार्न त्यति सहज नदेखिएको चर्चा जिल्लाको राजनीति वृत्तमा छ । चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।
हाल उनी कांग्रेस केन्द्रीय सदस्यसमेत छन् । पहिलो पटक प्रत्यक्षतर्फको चुनावी अनुभव बटुल्दै मैदानमा उत्रिएका चौधरीलाई यस निर्वाचन क्षेत्रबाट २०४८ सालदेखि भएका सबै निर्वाचनमा जित हासिल गरेका त्रिपाठी ठूलो चुनौती हुन् ।
त्रिपाठीलाई पछि पार्न चौधरीलाई त्यति सहज छैन । गएको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार त्रिपाठीको दलको उपस्थिति न्यून छ । तर एमालेसँगको तालमेलले त्रिपाठीले सत्ता गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नेछन् ।
स्थानीय तह निर्वाचनको मतअनुसार यो निर्वाचन क्षेत्रमा जप्रपाको ४ हजार ६८१ र एमालेको २६ हजार ७७९ मत छ । एमालेसँग तालमेल गरेको अर्को घटक जसपाले त्यस निर्वाचन क्षेत्रमा पनि एमालेकै उम्मेदवारलाई सघाउने जनाएको छ ।
जसपाको मत ३ हजार ५ सय ३९ मत छ । तीन दलको मत जोड्दा त्रिपाठीको पक्षमा ३४ हजार ९९९ पुग्छ । नेपाली कांग्रेसले पाएको मत ३० हजार ३४२ छ । गठबन्धनको घटक एकीकृत समाजवादीको १ हजार १४१ र राष्ट्रिय जनमोर्चाको २६० गरी चौधरीको पक्षमा कुल ३१ हजार ७४१ मत छ ।
सत्ता गठबन्धनको अर्को घटक माओवादी केन्द्र सहमतिविपरीत कांग्रेसले प्रदेशसभामा उम्मेदवारी दिएको भन्दै असन्तुष्ट जनाएपछि स्थानीय तहमा माओवादी केन्द्रले पाएको कुल ५ हजार ३३९ मत कता जान्छ अन्यौल मै छ ।
यद्यपी गठबन्धनका जिल्ला नेताहरु यो विवाद मिलाउने कसरतमा छन् । माओवादीको मत कतै पनि नजोड्दा चौधरीभन्दा त्रिपाठी ३ हजार २५८ मतले अघि छन् । माओवादीको मत कांग्रेसतर्फ जोड्दा त्रिपाठीभन्दा चौधरी २ हजार ९३ मतले अघि हुन्छन् ।
स्थानीय तहको मतअनुसार चौधरी र त्रिपाठी कस्लाई जिताउने भन्ने निर्णायक मत माओवादी केन्द्रमा छ ।
त्यसो त २०७४ को चुनावलाई फर्केर हेर्दा सूर्य चिन्हबाट चुनाव लड्दा त्रिपाठीले नेपाली कांग्रेसलाई ५ हजार १ मतले पराजित गर्दै विजयी भएका थिए । त्यसैले पनि त्रिपाठी र चौधरीको प्रतिस्पर्धालाई मतदाताले समेत कसको पल्लाभारी कता भन्ने सहज आँकलन गर्न सकेका छैनन् ।

प्रतिक्रिया