अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच वार्ताका लागि खुला रहेको पुष्टि गरेका छन् ।
न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएका हुन् । तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए ।
ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नका लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो ।
वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन् ।
वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन् ।
गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले रुसमा विनाशकारी परिणाम निम्त्याउने मत राखेका थिए । उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे उल्लेख गरेको प्रसारक एनबीसीसँग बताए ।
ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमबार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन् ।
गत साता वाशिङ्टन पोस्टले वरिष्ठ अमेरिकी अधिकारीहरूले किएभलाई रुससँग वार्ता गर्नेबारे खुकुलो बन्न सङ्केत गर्न र राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहँदा युद्धको अन्त्य बारे छलफल नगर्ने निर्णय त्याग्न आग्रह गरिरहेको उल्लेख गरेको छ।

प्रतिक्रिया