काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकालै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।
उनले जनताका आकंक्षाहरु दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गरे । अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए ।
उनले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्युनतम आधार तयार नभएसम्म माओवादीहरु मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताए । अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको बताए ।

प्रतिक्रिया