चितवन। राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पान्डेले आममतदातालाई राजनीति भन्दा माथि उठेर यसपटक मतदान गर्न आव्हान गरेका छन् । नारायणी नदीमा स्नानपछि भरतपुर १६ मा रहेको सिद्धि गणेश मन्दिरको पुजा अर्चना र गंगा आरती पछि उनले औपचारिक रुपमा निर्वाचन प्रचार अभियानलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।
आफू धर्म संस्कृतिको पक्षधर रहेको कारण यसरी कार्यक्रमको शुभारम्भ गरेको समेत उनले बताए ।आफू यो निर्वाचन क्षेत्रबाट गएको चुनावमा पराजय भएपनि क्षेत्र छोडेर नभागेको र भविष्यमा पनि तपाईं हरुको माझमा रहने बताए । आफू जनताको दुःख र विकासको साथमा रहेको भन्दै उनले गत निर्वाचनमा आफू हार्दा चितवन हारेको र प्रचण्डले जित्दा पनि जनताले चाहिँ हारेको बताए ।
परिवर्तनका लागि राजनीति गरेका भन्नेहरुलाई प्रश्न गर्दै उनले परिवर्तन जनताको झुपडीमा आयो या जनताको जीवनशैलीमा भन्दै कटाक्ष गरे । उनले यो गठवन्धन कुनै राजनीतिक सिद्धान्त वा दर्शनबाट बनेको नभइ जसरी पनि सत्ताकव्जा गर्न र मुलुक लुट्न बनेको आरोप लगाए ।
आफूसँग समग्र चितवन विकासको खाका रहेको कारण यो निर्वाचनमा आफूले जिते चितवनलाई सवैले प्रशंसा गर्ने चितवन निर्माण गर्ने दाबी गरे । यो सरकार जनताको नभइ गठवन्धनको भएको कारण योसँग केही आशा नगर्न समेत आग्रह गरे ।
कार्यक्रममा क्षेत्र नं ३ क का उम्मेदवार ज्ञाजंग लामा, ख का उम्मेदवार रिना गुरुङ लगायत पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया