गठवन्धनको नाममा जनताको मताधिकारलाई अंकुश लगाइयोः वरिष्ठ उपाध्यक्ष पाण्डे


चितवन । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताएका छन् । चुनावी अभियानका क्रममा भरतपुर–१६को चौकी र बरमपुरमा भएको कार्यक्रममा पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्यायप्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गरे ।

उनले आफू राजनीति गर्न भन्दा नि विकास गर्न आएको बताए । उनले पटक विकासको लागि मत मागेका छन् । उनले भने,‘गएको पाँच वर्ष संसदमा मेरो उपस्थिति नहुँदा विकासको काम रोकियो । यसले चितवनवासी आमजनताले घाटा मात्रै व्यहोर्नु पर्याे । त्यसैले अबको नेतृत्वमा विकासवादी नेतृत्व छान्ने हो भने आगामी पाँच वर्ष पछुताउनु पर्दैन ।’

उनले राजनीतिक परिवर्तनको नाममा ठूला दलहरुले भएका उद्योगधन्दा तथा कलकारखाना कौडिको मोलमा बिक्री गरेर युवाहरुलाइ विदेशिन बाध्य बनाएको र त्यहाँबाट आउने रेमिट्यान्समा तर मारेर बसेको आरोप लगाए । गठवन्धनको नाममा जनताको मताधिकार लाई अंकुश लगाएर स्वविवेकीय निर्णय गर्न रोकेर ठूला दलहरुले प्रजातन्त्रको आधार स्तम्भ माथिनै प्रहार गरेको उनले बताए ।

उनले अब दल भन्दा माथि उठेर विकास र भावी सन्ततिका लागि राप्रपालाई मतदान गर्न आग्रह गरे उनले भने, ‘मैले जति समस्या वुझ्न सक्छु त्यति वुझ्ने अरु कुनै उम्मेदवार यस क्षेत्रमा छैनन् ।’ कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकलगायतले मन्तव्य राखेका थिए ।