कैलालीको चौमाला बजारमा आगलागी, १ करोड १३ लाख बराबरको क्षति


कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गएराति आगलागी हुँदा झण्डै एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा एक लाख ५० हजार, जयसिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल पसलमा १० लाख मूल्य बराबरको सामान जलेर नष्ट भएका छन् ।

यस्तै हिमाल पुनमगरको मोबाइल पसलमा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा  ४५ लाख र टङ्कप्रसाद आचार्यको सुज सेन्टरमा ३० लाख मूल्य बराबरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

हिमाल पुनमगरको मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युतको लाइन चुहावट भई लागेको आगो नजिकै रहेका अन्य पसलमा सल्केको थियो ।

आगलागीको घटनालगत्तै घटनास्थल पुगेको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी र गोदावरी नगरपालिकाको दमकलका सहायतामा झण्डै एक घण्टापछि आगो निभाइएको थियो ।