काठमाडौं । कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएका हुन् ।
दोस्रोपटक पक्राउ परेर प्रहरी हिरासतमा रहेका कमेडियन क्षितिज विरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो ।
जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए ।
बुधवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि उनीविरुद्ध थुनछेक बहस भएको हो । अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोप छ ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएका थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।

प्रतिक्रिया