दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु


काठमाडौं । दशैंको अवसर पारेर शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गरेको हो ।

बजारको तुलनामा दैनिक उपभोग्य सामानहरू सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरूको बृहत् मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन गरेको छ। प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजि पे मार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउने छन्।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए। मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरू राखिएको र बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिने प्रधानले बताए । मेला असोज १० गतेसम्म चल्ने आयोजकले जनाएको छ।