नेप्सेमा १० अंकको गिरावट


काठमाडौं । बुधबार बढेको शेयर बजार बिहीबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ९६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर कमी आइरहेको छ । दुई सय २९ वटा कम्पनीको २५ लाख ४२ हजार कित्ता शेयर ६५ करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज प्रभु डिबेन्चर र गरिमा डिबेन्चर २०८४ को शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।