लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षमा आलम निर्वाचित


बुटवल । लुम्बिनी प्रदेश उद्योग परिसंघको अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । बिभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेका आलमको नेतृत्वमा सिएनआईको नयाँ प्रदेश समिति चयन भएको हो।

शुक्रबार सम्पन्न परिसंघको प्रथम साधारण सभा तथा अधिवेशनबाट यस अघि तदर्थ समितिको अध्यक्ष रहेका आलमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, उपाध्यक्ष रामप्रसाद बस्याल, बावुराम बोहोरा, सफर अलि, बोनिन पिया, संस्थागत सदस्यमा हिरामणी भटराई र दिलिप सापकोटा तथा सदस्यहरुमा सदस्यमा शिव कुमार पाठक, श्रृजना अर्याल, माधव पौडेल,मोहन रेग्मी उपेन्द्र अग्रवाल,नवराज भुसाल गुल्मी, उमाशंकर मालपानी, बावुराम श्रेष्ठ अर्घाखांची, गेहेन्द्र बस्नेत दाङ, माधव पौडेल रुपन्देही सोमेस अग्रवाल र भुवन गिरी रहेका छन् ।

परिसंघको साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले नेपालमा राजनितिक परिवर्तन भएपनि नागरिकको जिवनस्तरमा अझै परिवर्तन आउन नसकेको बताए।

उनले औद्योगिक क्षेत्रको विकास भएमात्रै नागरिकको जिवनस्तरमा परिवर्तन आउने र देश समृद्ध बन्ने बताउंदै त्यसको लागि सरकारले लगानीमैत्री वातावरण बनाउने प्रयास गरिरहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको आर्थिक खम्बाको रुपमा रहेको क्षेत्र धारासायी भईरहंदापनि सरकारले उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका लागि कुनै योजना बनाउन नसकेको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नेत्र पाठक, चेम्बर अफ कमर्सका लुम्बिनी अध्यक्ष टंक प्रसाद पोखरेल, उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण शर्मा, रुपन्देही उद्योग संघका अध्यक्ष माधब पौडेल, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, ईट्टा व्यवसायी संघका अध्यक्ष अजय गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सरकारले लिएको बजेटमा औद्योगीकरण नीति भएपनि कार्यान्वयन हुन नसकेको बताए।

कार्यक्रम परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षता, प्रमुख कार्यकारी अधिकृत मुकुन्द ज्ञवालीको संचालन, दिनेशराज रेग्मीको स्वागत तथा बोनिन पियाको धन्यवादमा सम्पन्न भएको थियो।