२० वर्षदेखि हराइरहेकी एक भारतीय महिला सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोको सहयोगमा पाकिस्तानमा भएको पत्ता लागेको छ । एक दलालले दुबईमा भान्सेको काम लगाइदिने आश्वासन दिएपछि सन् २००२ मा हमिदा बानु भारतबाट हिँडेकी थिइन्। तर आफूलाई झुक्याएर पाकिस्तान तस्करी गरिएको उनी बताउँछिन् ।
भारतको मुम्बईमा बस्ने बानुको परिवारले दुई दशकसम्म उनको खोजी गरिएको बीबीसी मराठीसँग बताए। अन्ततः भारत र पाकिस्तानमा रहेका दुई व्यक्तिको सहयोगमा बानु फेला परिन् । मुम्बईस्थित पत्रकार खलफान शेखले उक्त भिडिओ आफ्नो सामाजिक सञ्जालमार्फत् साझा गरेपछि त्यो अन्ततः बानुको परिवारसम्म पुगेको थियो ।
यी दुई छिमेकी देशको सम्बन्ध तनावपूर्ण छ। त्यसैले भारतीय र पाकिस्तानी नागरिकहरूलाई सीमा पार गर्न प्रायः कठिन हुन्छ। झन् आर्थिक स्रोत र ज्ञानको अभावका कारण बानु वर्षौँ पाकिस्तानमै अल्झिइन् । तर वर्षौँसम्म पनि आफ्ना छोराछोरीलाई भेट्ने उनको इच्छा भने कहिल्यै कम भएन। अनि यो वर्ष जुलाई महिनामा सामाजिक सञ्जालमा सक्रिय अभियानकर्मी वलिउल्लाह मारूफले बानुसँग अन्तर्वार्ता लिए र त्यो भिडियो अनलाइनमा राखिदिए । मुम्बईस्थित पत्रकार खलफान शेखले उक्त भिडिओ आफ्नो सामाजिक सञ्जालमार्फत् साझा गरेपछि त्यो अन्ततः बानुको परिवारसम्म पुग्यो ।
२० वर्षपछि संवाद
यी दुई व्यक्तिहरू मिलेर बानु र उनकी छोरी यास्मिन शेखबीच भिडियो संवाद गराए । ‘तिमीलाई कस्तो छ ? मलाई चिन्यौ ? यतिका वर्ष तिमी कहाँ थियौ?“ भावुक संवादका क्रममा यास्मिनले धेरै प्रश्न सोधिन् । ‘म कहाँ थिएँ र कस्तो अवस्थामा थिएँ त्यो नसोध। मैले तिमीहरू सबैलाई निकै सम्झिएँ। म यहाँ रहरले बसेकी हैन, मसँग कुनै विकल्प नै थिएन,’ बानुले उत्तर दिइन् ।
बानुको यात्रा
पतिको मृत्यु भएपछि आफ्ना चार सन्तानको जिम्मेवारी आफूले सम्हालेको बानुले मारूफसँगको अन्तर्वार्तामा बताएकी छन्। यसअघि कतार, दुबई र साउदी अरबमा आफूले कुनै समस्याबिना कुकको काम गरेको उनी बताउँछिन् । सन् २००२ मा उनले जागिर लगाइदिने एक व्यक्तिलाई दुबईमा काम मिलाइदिन आग्रह गरिन्। ती महिलाले उनीसँग २० हजार भारतीय रुपैयाँ मागिन्। बानुले भिडियोमार्फत् बताएअनुसार उनलाई दुबईको साटो पाकिस्तानको हैदराबाद पुर्याइयो । त्यहाँ आफूलाई तीन महिनासम्म बन्दी बनाइएको उनको दाबी छ ।
केही वर्षपछि उनले कराची सहरमा बस्ने एक मानिससँग विवाह गरिन्। तर कोरोनाभाइरस महामारीको समयमा उनको मृत्यु भयो। बानु अहिले सौतेनी छोरासँग बस्छिन् । विदेशमा काम गर्न जाँदा पहिलापहिला आमाले नियमित सम्पर्क गर्ने गरेको यास्मिन बताउँछिन्। सन् २००२ मा बानु विदेश गएदेखि नै परिवार उनको फोनको पर्खाइमा थियो। उनीहरूले उनलाई विदेश पठाउने दलालसँग सम्पर्क गरे । ‘उनले हाम्री आमा ठिक भएको र हामीसँग कुरा गर्न नचाहेको बताइन्। हामीले पटकपटक एउटै प्रश्न लिएर गयौँ तर अचानक ती दलाल बेपत्ता भइन्,’ यास्मिनले भनिन् ।
बानु भेटिएपछि
मारूफ कराचीस्थित एक स्थानीय मस्जिदका इमाम छन्। उनले बानुलाई करिब १५ वर्षअघि भेटेका थिए। त्यतिबेला बानु आफ्नो छिमेकमा बसाइँ सरेर आएको र एउटा सानो पसल खोलेको उनी सम्झिन्छन् । ‘उनलाई म आफू सानो छँदादेखि देखिरहेको छु। उनी सधैँ निकै तनावमा देखिन्थिन्,’ उनले भने । मारूफले वर्षौँदेखि आफ्नो सामाजिक सञ्जालमार्फत् बाङ्ग्लादेशबाट पाकिस्तानमा बेचिएका महिलाहरूलाई आफ्नो परिवार खोज्न सहयोग गर्दै आएका छन् ।
दोस्रो पतिको निधन भएपछि बानुले मारूफकी आमासँग आफूलाई सहयोग गरिदिन याचना गरेकी थिइन् । उनीप्रति आफ्नो सहानुभूति भए पनि भारत र पाकिस्ताबीच विद्यमान चिसो सम्बन्धका कारण सहयोग गर्न सङ्कोच लागेको उनले बताए ।
‘मेरा साथीहरूले समस्या हुन सक्ने भएकाले भारतको विषयमा नपर्न सुझाव दिएका थिए। तर मलाई यति धेरै नराम्रो लाग्न थाल्यो कि मैले आफूलाई रोक्नै सकिनँ,’ उनले भने । उनका अनुसार यस्तो कार्यको लागि उनी कसैसँग पैसा लिँदैनन् । उक्त अन्तर्वार्तामा बानुले आफ्नो मुम्बईको ठेगाना र आफ्नो सन्तानहरूको नाम भनेकी थिइन् ।
यास्मिनका छोरा अमनले पहिलो पटक शेखले शेअर गरेको भिडिओ देखेका थिए। अठार वर्षीय अमनले आफ्नी हजुरआमालाई कहिल्यै भेटेका थिएनन् तर यास्मिनले भिडिओ देख्नासाथ आमालाई चिनिन् । मारूफका अनुसार पाकिस्तानस्थित भारतीय उच्च आयोगका अधिकारीहरूले बानुलाई सम्पर्क गरी भारत फिर्ता गर्ने विषयमा कुरा गरेका छन्। उनीहरूले उनलाई थप विवरणसहित निवेदन दिन सल्लाह दिएका छन्। तर यो प्रक्रियाको निम्ति कति समय लाग्छ भन्ने निश्चित छैन ।
पहिले आफ्ना बच्चाहरूसँग भेट्ने आशा लगभग मारिसकेकी बानु अहिले भने घर फर्किने व्यग्र प्रतीक्षामा छिन् । भारतमा पनि आमा फर्किने प्रतीक्षा गरिएको यास्मिन बताउँछिन् । ‘हामीले आमालाई २० वर्ष कुर्यौँ। अहिले म धेरै खुसी छु।’ ‘त्यो भिडियो हेरेपछि म खुसी हुन छोडेकी छैन। यो अनौठो अनुभूति हो,’ यास्मिनले भनिन्।
इस्लामाबादबाट शुमैला जाफरी
र मुम्बईबाट अमृता दुर्वे
बीबीसी न्यूज

प्रतिक्रिया