झापा । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज रूपान्तरणका लागि एमालेको सङ्घर्ष अझै जारी रहेको बताएका छन् । शुक्रबार झापाको विर्तामोडमा जिल्लास्तरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पात्र फेरिए पनि प्रवृत्ति नफेरिएका कारण सङ्घर्षलाई थप सशक्त बनाउनुपर्ने बताए ।
राणा शासन विरुद्धको आन्दोलनदेखि नेपाली कम्युनिष्टहरूले अग्रमोर्चामा आफूलाई उभ्याउँदै आएको चर्चा गर्दै अध्यक्ष ओलीले आफूलाई सबैभन्दा ठूलो प्रजातान्त्रिक शक्ति बताउने काँग्रेसले जनताको पक्षमा लड्दै आएका कम्युनिष्टहरूका विरुद्ध पटक पटक दमनको नीति लिएको आरोप लगाए ।
नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार र मूल प्रवाह नेकपा (एमाले) भएको र कम्युनिष्टहरूकै विरुद्ध पश्चगामीहरूको गोटी बन्नेहरू कम्युनिष्ट हुनै नसक्ने उनले बताए ।
राणा शासन विरुद्धको सङ्घर्षदेखि नै समाजवादी आन्दोलनको पक्षमा कम्युनिष्टहरू रहेको र त्यसको मूलधार नेकपा एमाले हो भन्दै अध्यक्ष ओलीले पञ्चायती व्यवस्था विरुद्ध पनि कम्युनिष्ट नेताहरूले नै नागरिकलाई गोलबद्ध गरेको बताए ।
नेपाली काँग्रेसले एमालेलाई सधैं आफ्नो शत्रु देखे पनि एमालेले कहिल्यै पनि वर्गशत्रु किटान नगरेको बताए ।
अध्यक्ष ओलीले एमाले नेपाली समाजको दिगो विकास, परिवर्तन र नागरिक अधिकारका लागि निरन्तर लड्दै आएको शक्ति भएको बताए ।
देशका विरुद्ध, लोकतन्त्रका विरुद्ध र एमालेका विरूद्ध विभिन्न समूहहरू लागिपरेको भन्दै उनले राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारले गरेका कामले धेरैलाई टाउको दुखाएको बताए ।
बहुदलीय व्यवस्था स्थापनापछि नेपाली काँग्रेसले सवैभन्दा लामो समय सरकारको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘काँग्रेसको नेतृत्वमा देशमा के–के काम भए, अहिलेको सरकार र प्रधानमन्त्रीले उत्तर दिन सक्नुपर्छ ।’

प्रतिक्रिया