१३ अंकले बढ्यो शेयर बजार


काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से शुक्रबार १३ दशमलव ०५ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ ।

शुक्रबार जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । शुक्रबार दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो । आज राष्ट्र उत्थान लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे तीन प्रतिशतले घटेको छ ।