‘मैले एक्लै एम अधिकारी भन्ने मान्छे खोजेर बुझाएको छु, कार्वाही होस् सभामुख महोदय’


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी व्यक्तिबारे आफूले प्रमाण फेला पारेको भन्दै व्यंग्य गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा व्यंग्य गर्दैसांसद महतले एम अधिकारी भनेको गभर्नर नै भएको बताएका हुन् ।

उनले भने,‘सीसीटीभी मात्र होइन एम अधिकारी पनि खोज्न माग गरेको थिएँ, सरकारले खोजबिन नगरे पनि मैले प्रमाण फेला पारेको छु । एम भनेको मनी अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे । अर्थात् ढुकुटीमा अधिकार भएको मान्छे या गभर्नर पैसा भएको मान्छे । एम अधिकारी खोज्न समिति बनेन, मैले एक्लै एम अधिकारी भन्ने मान्छे खोजेर बुझाएको छु । उहाँमाथि कार्वाही होस् सभामुख महोदय।’

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारीको विषयलाई लिएर कुरा उठ्दै आएको छ । तर एमालेले एम अधिकारी गभर्नर नभएको भन्दै प्रतिरक्षा गर्दै आएको छ ।