विश्वका १६४ देशबाट नेपालमा मालसामान आयात, व्यापार घाटा २३ प्रतिशतले वृद्धि


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो ।
तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो ।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो ।

आव २०७८/७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।

बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे । विभागका अनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबर थियो ।

एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६दशमलव १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।
पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब
बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।

७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ । एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा  ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ ।