माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैनः प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूको जोडबलमा नै नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे ।

देशमा माओवादी पार्टी बलियो नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने भन्दै उनले आगामी निर्वाचनमार्फत देशको बागडोर सम्हाल्ने अवसरबाट कोही कसैले रोक्न नसक्ने बताए। अध्यक्ष दाहालले परिवर्तन र जनताको परिवर्तनको पक्षमा माओवादीले गरेको योगदानलाई पुनः स्थापित गरेरै छाडिने विश्वास व्यक्त गरे ।

उनले नवप्रवेशीलाई उचित जिम्मेवारी दिन आफूले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । उनले पर्सामा कमजोर रहेको माओवादीलाई आजको पार्टी प्रवेशले सबल बनाउने विश्वास व्यक्त गरे । उनले मधेसमा नै माओवादीले जनयुद्धको समयमा ठूलो बलिदान गरेको स्मरण गरे । अध्यक्ष दाहालले आजको पार्टी प्रवेशले नयाँ उत्साह थप्ने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरू टेकबहादुर शाक्य, सलाउनि अहमद, कृष्णमोहनप्रसाद यादवलगायत दुई दर्जन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहाललगायत नेताहरूले स्वागत गरेका थिए ।