यो नागरिकता विधेयकमाथिको छलफल होइन, केवल ‘छल’ होः भीम रावल


काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले पनि विवाहपछि सात वर्ष बसोवास गरेपछि मात्रै नागरिकता दिने प्रावधान राख्नुपर्ने बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिदै उनले नागरिकता दिन शर्त राख्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘वैवाहिक अंगिकृत नागरिकता प्राप्तिको सन्दर्भमा लैङ्गीक समानताका आधारमा शुरुमा बसोबासको स्थायी परिचयपत्र लिनसक्ने प्रावधानसहित नेपाली नागरिकसँग विवाह गरेका विदेशीले नेपालमा सात वर्ष बसोवास गरेपछि लैङ्गीक समानताको आधारमा नेपाली नागरिकको विदेशी दम्पतिलाई व्यवहार गर्ने प्रावधान राखेर जाउँ ।’

त्यसैगरी सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिए । नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गरे ।

उनले भने, ‘छलफल होइन केवल छल हो । नागरिकताजस्तो संवेदनशिल विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर विषयलाई समितिमा नपठाई जबर्जस्ती अगडि बढाइनु लोकतन्त्रको उपहास हो । निरंकुशता हो । राष्ट्रियताप्रतिको खेलवाड हो । संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान बनाउने बेला नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि त्यतिबेला पाँच वा सात वर्ष भन्ने छलफल भएको थियो । नेपालमा निरन्तर बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित राज्य व्यवस्था समितिले निर्णय गरी पेस गरेको सात वर्षको प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनैतिक अनैतिकता पनि हो ।’

उनले नेपाली नागरिकसँग विवाह गर्ने महिलाले नागरिकता लिन चाहेमा निश्चित अवधि बसोवास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमति विपरित विधेयक अगाडि बढाइएको बताए ।