काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्म र विवाह गरेकै आधारमा बंशजको नागरिकता दिन नहुने बताएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले जन्म र विवाह गरेकै आधारमा वंशजको नागरिकता दिनु राष्ट्रघाती र आत्मघाती हुने बताइत् । उनले जन्म आधारमा नागरिकता दिँदा नेपाली अल्पमतमा पर्ने बताइन् ।
उनले भनिन्, ’वंशजको नागरिकता जन्मको आधारमा दिनु हुँदैन । जन्म आधारमा नागरिकता दिँदा नेपाली अल्पमतमा पर्दछन् । आमा र बुबा दुवै वंशज नागरिकता भएको व्यक्तिबाट जन्मेको सन्तानलाई मात्रै वंशजले दिनुपर्छ ।’
उनले कुनै पनि देशले सर्वपक्षीय मूल्यांकन गरेर मात्रै देशको हित हुनेगरी नागरिकता वितरण गर्दै आएको बताइन् । विदेशी महिलाले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशको आ–आफ्नै नियम भएको भन्दै उनले नेपालको हकमा पनि प्रावधान राख्न आग्रह गरिन् ।
उनले भनिन्,’नागरिकता प्रदान गर्ने विधि कठिन बनाउनु पर्छ खुकुलो होइन । यो स्पष्ट धारणासहित हामीले संविधान बनाउँदा पनि त्यसको आधारमा राखेका थियौं ।’

प्रतिक्रिया