काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ र प्रतिपक्ष सांसदहरूले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन् । सभामुख सापकोटाले सांसदहरूले एसपिपीबारे उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
उनले भने,‘ माननीय सदस्यहरुले उठाउनु भएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
मन्त्रिपरिषद बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन । सरकारले पत्र नपठाएको सम्बन्धमा सदनलाई जानकारी दिन बिहीबार सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले माग गरेका थिए ।

प्रतिक्रिया