‘गाउँघरमा कुखुराको चल्ला हराएपछि खोजी हुन्छ तर एम अधिकारीको किन हुँदैन ?’


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रतिपक्षी दल नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीको खोजी हुनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा महतले एमाले आफ्नो महत्वपूर्ण विभागको मान्छे हराएको खोज्न छोडेर सीसीटिभी फुटेज खोज्दै हिँडेको टिप्पणी गरे । उनले एम अधिकारीको खोजी सरकार र प्रतिपक्षले नगरेकाले अधिकारी थर हुनेहरुले नै खोजी थाल्नुपर्ने भन्दै व्यंग्य गरे ।

सांसद महतले भने, ‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघर तिर । यहाँ सबैभन्दा ठूलो पार्टीको एउटा महत्वपूर्ण विभागको एउटा केन्द्रीय सदस्य हराउनु भएको छ । उहाँको खोजी न सरकार गर्छ । न प्रतिपक्ष गर्छ । मैले अनौठो मानिरहेको छु । सरकार विद्यार्थीको जिम्मा लगाइदिएको छ त्यो खोजी गर्ने । प्रतिपक्ष आफ्नो महत्वपूर्ण सदस्य खोज्नुको साटो सिसी क्यामेरा खोज्दै हिँडेको छ । सीसी क्यामेरा खोज्ने एउटा समिति बनिसकेको छ, त्यत्रो महत्वपूर्ण मान्छे हराएको छ त्यो खोज्ने कुनै समिति बनेकै छैन अहिलेसम्म । यो कसले खोजिदिने ? एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छेहरुले सरकारले, प्रतिपक्षले नखोजेपनि एम अधिकारी खोज्नुपर्यो । अरु कसलाई भनौँ म ?’