तीन वामपन्थी दलबीच गठबन्धनलाई कायम राखेर पार्टी एकता गर्नेबारे छलफल


काठमाडौं । तत्कालिन नेकपाका सचिवालयमा रहेका नेताहरुबीच पार्टी एकताका विषयमा छलफल भएको छ । मंगलबार अपरान्ह सिंहदबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच पार्टी एकताका विषयमा छलफल भएको हो ।

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको जानकारी दिए । त्यसक्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल गरिएको  उनले बताए ।

उनले एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पारे । उनले भने, ‘ आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीहरुले आ–आफ्नो निर्णय गरेका छन् । नेपाली काँग्रेसको पनि केन्द्रीय समिति बैठक हिजो सकियो । उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्नु भएको छ । त्यो बारेमा पनि हामीले चर्चा गर्यौँ । एमालेका निर्णयहरु पनि आइराखेका छन् त्यसबारेमा पनि चर्चा गर्यौँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन । तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ । यो गठबन्धनको बिरुद्ध भनेको होइन है । पार्टी एकीकरणको बारेमा चर्चा गरेको छौँ ।’

उनले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताए ।