वीरगंज । वीरगंज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आर्थिक वर्षमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षमा महानगरपालिकाले ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८/७९मा कार्यालयले ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.७० प्रतिशत बढी हो । महानगरपालिकाले गत आर्थिक वर्षमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आर्थिक वर्षमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात् ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ । त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आर्थिक वर्षमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा कार्यालयले १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

प्रतिक्रिया