न्यायाधीशलाई २ करोड घुस अफर गर्ने वकिललाई परिषदले सोध्यो स्पष्टीकरण


काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीशलाई २ करोड रुपैयाँ घुस अफर गर्ने अधिवक्ता रूद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले सातदिने स्पष्टीकरण सोधेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई सात दिनभित्र जवाफ पेस गर्न परिषद्ले मंगलबार सार्वजनिक सूचना निकालेको हो ।

सूचनामा भनिएको छ,‘तपाईँ र कानुन व्यवसायीबीच फोन वार्ताको सन्दर्भमा परेको उजुरीबाट तपाईँले कानुन व्यवसायीको आचारसंहिता, २०५१ को विपरित कार्य गर्नु भएकाले कारबाहीको लागि प्रतिवेदन उजुरी प्राप्त भएकोमा सो सम्बन्धमा तपाईँलाई कारबाही हुनुनपर्ने हो/होइन? अनुशासन समिति नियमावली, २०५८ को नियम ६ (३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले सात दिन भित्र जवाफ पेश गर्नुहोला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ।’

सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउनेबारे न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको वार्ताको अडियो सार्वजनिक भएको थियो । सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।