भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा


झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट१० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ ।

निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको देखिन्छ ।

काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः १० अर्ब नौ करोड ९९ लाख र ७४ करोड ८६ लाख पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बङ्गलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।

सोही अवधिमा भुटानबाट एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाखका मात्र सामान निर्यात भएको थियो । बङ्गलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ । बङ्गलादेशसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ ।

बङ्गलादेशसँग नेपालले आर्थिक वर्ष २०७७/०७८ मा छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आर्थिक वर्ष २०७६/०७७ मा तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार व्यापार घाटा व्यहोरेको थियो ।

राजस्व असुली लक्ष्यभन्दा बढी

मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीले सो आर्थिक वर्षमा १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गर्न सफल भएको बताए ।

भन्सारले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा १११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिए । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको हो ।