तिलोत्तमामा वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न एमालेको माग


काठमाडौं । राष्ट्रिय सभाका नेकपा एमालेका सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगर सभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए । उनले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गरे ।

गृहमन्त्रीले आफ्नो भाइ मेयर भएको तिलोत्तमा नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप सांसद भट्टराईको छ । वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न उनले माग गरे । जनप्रतिनिधिलाई सार्वजनिक ठाउँमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उनले बताए ।

यस घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गरे । उनले भने, ‘तिलोत्तमा नगरपालिकामा हिजो डीएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेका छन् । यही हो लोकतन्त्र ? देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो ? विवाद हुन सक्छ, छलफल हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि पुलिस लगाएर शासन गर्ने कोसिस गरिन्छ ? गृहमन्त्रीको भाइ त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको मातहतमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने ? त्यो डीएसपी कारबाहीमा पर्छन् कि पर्दैनन् हामी हेर्छाैँ । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्र्याएर पोखरीमा चोबल्ने डीएसपी कारबाहीमा पर्छ कि पर्दैन ? गृहमन्त्रीले के भन्नुहुन्छ ?’

तिलोत्तमामा वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न एमालेको मागसांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँट गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताए । सांसद भट्टराईले नागरिकतासम्बन्धी विधेयक ’फास्ट ट्रयाक’ मा पारित गरेर नागरिकताविहीनहरूलाई नागरिकता दिलाउनुपर्ने बताए ।