कमैया र बँधुवा श्रमिक राख्नेलाई तत्काल कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया, हरुवाचरुवा वा अन्य बँधुवा श्रमिक राख्नेलाई तत्काल कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।

सोमबार कमैया मुक्तिको २२ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बँधुवा श्रमिक राख्न नपाइने बताउँदै त्यस्तो राखिएको पाइए तत्काल कारवाही गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका हुन् ।

उनले भने,‘अब कसैले पनि त्यस्तो कमैया, हरुवाचरवा वा त्यस्तै बँधुवा श्रमिक राख्न पाउँदैन, यदि कसैले त्यस्तो गरेको छ भने त्यो सरकारको घोषणाविपरीत हो, कानुनविपरीत हो त्यसको प्रभावकारी अनुगमन गरी कारबाहीका लागि म सरकारका निकायहरुलाई निर्देशन गर्दछु।’

उनले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिए । उनले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहनि सुकुम्बासीको पहिचान गरी बसोवासको लागि घरघडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले हरुवाचरुवा, लगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने कुरामा सुधार गर्ने गरी दिगो सामाजिक, आर्थिक उन्नतीका लागि सीप र क्षमता विकास गर्दै उद्यमशील बनाउन आवश्यक रहेको बताए ।