भारत भ्रमणबाट तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी छुः प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् ।

तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए । उनले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरुसँग भेट भएको बताए ।

उनले भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेको जानकारी दिए ।

उनले भने,‘सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो । अपेक्षानुसार भ्रमण सफल भएको छ । कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । नेपालीहरुमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन । त्यस्तै सुरक्षा दिनुभयो । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल भयो ।’

उनले अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलयितमा दिने बारेमा पनि चर्चा भएको बताए । उनले भारत भ्रमणपछि अब नेपाललाई विभिन्न खाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताए ।

भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध बिस्तार गर्ने बारेमा प्रस्ताव राखेको र आफूले उक्त प्रस्ताव स्वीकारेको बताए ।

उनले यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको बताए । उनले भने, ‘यो पटकको भ्रमणलाई जसरी मिडियाले कभरेज गरेको थियो राम्रो थियो भारतमा पनि राम्रो थियो । आरजू राणासँग दुतावासमा भेट भयो । उपचारको कामना गरेँ । अरु केही भएको थिएन । भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यत्ति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो । थिङ्क ट्याङको कार्यक्रम थियो । सीमा सम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरु भए । रुसबाट क्रुड वेल सस्तोमा आउँछ अब नेपाललाई राहत दिनुभयो भने नेपाली जनतालाई सहयोग हुन्छ । भन्ने कुरा भयो । खाद्यान्नका, डुबानका विषयमा कुरा भए । म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरु केही सहज हुन्छ भन्ने लागेको छ । हामीले पनि उहाँहरुका पार्टीका नेताहरुलाई बोलाओस् भन्ने प्रश्ताव छ । मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन । यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरु पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’

अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् ।