प्रचण्ड आज भारत भ्रमणमा जाँदै


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए ।

अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको स्थायी समिति बैठकमा छलफल भएको थियो । बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो । दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन् ।