खारेज होइन, स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्छः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता खारेज गर्ने कुरा निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन् । बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्ने बताएका हुन् ।

उनले भने,‘आज भोलि केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरि जाने भन्ने हो । स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्यो।’ उनले परिवर्तनका लागि अझै लडाइँ जारी रहेको भन्दै सबै राजनीतिक पार्टीका नेताहरु सबै उस्तै छन् भनेर नकारात्मक कुरा गर्ने काम बढी भएको बताए । उनले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनु जरूरी रहेको बताए।

उनले भने,‘आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने हुन्छ। वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन्। हिजो कम्युनिष्ट एकता गराएकै हो। वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनैपर्छ,’ उनले भने,‘हिजो प्रस्तावक म थिए भोलि पनि मै प्रस्तावक हुन्छु भन्ने लागेको छ।’राज्य र राजनीतिक नेतृत्व विज्ञान र प्रविधिलाई आधार बनाएर काम गर्ने ठाउँमा आइ नसकेको उनको भनाइ छ।