जेपी गुप्ता ।
भातृ दोष रहेपनि मिलेरै शासन हत्याएका दुई मधेसी पार्टी अहिले ४/५ वटामा टुक्रिएका छन्। साख्य माओवादीलाई कछुवाको गतिमा हिँडिरहेको आरोप लगाएका डा. बाबुराम भट्टराईले जसपामा “भ्यागुतो उफ्र्याई” को संभावना देखेका थिए। अहिले उनि “क्षेत्रीयताको नाममा भोट पाएर सत्ताका लागि केन्द्रमा लम्पसार परेको” आरोप लगाएका छन् मधेसका भगवानलाई ।अन्ध भक्तहरूले बहुधा भगवानलाई चिनेकै हुन्नन्। जेहोस्, एकले अर्काको प्रतिरक्षा गर्दै यिनीहरू सत्तामा अविच्छिन्न रहेको पाँचबर्ष हुदैछ।
यस अवधिमा, यता प्रदेशगत जिडिपीमा मधेस प्रदेश सबैभन्दा तल छ । सबभन्दा बढी बागमती प्रदेश ६.७४% जब कि मधेस प्रदेशको सब भन्दा कम ४.८२ रह्यो। सातै प्रदेशको तुलनामा मधेस प्रदेशका एउटा पनि जिल्ला पूर्ण साक्षर हुन सकेन। सबै प्रदेश मध्ये सबभन्दा बढी जनप्रतिनिधि उपर यही भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
यस आर्थिक वर्षमा सबभन्दा कम विकास खर्च मधेसप्रदेशकै छ। अख्तियार मुख्यमन्त्रीको भान्सा कोठामा छिरेको यही हो । यी सब कृत्यलाई रोक्ने निकाय”जन लोकपाल” सातबटै प्रदेश मध्ये यही मात्र छ। तर, यिनकै कुर्ता पाईजामा सब भन्दाबढी “टिनोपालबाला सफेदी” देखिन्छ। यहाँका नेताहरू मसिहा भैरहेकै छन्, जनताबाट कुनै प्रश्न छैन। जनकपुरका मैथिलहरू गोर्खाली भएका छन्। गोर्खालीसँग आधारभूत रूपमा ३ कुरा जोडिएर आएको इतिहास छः १) राज्य भोग गर्ने दैवी अधिकार, २) आफ्नै भाषा र भेष अनि ३) हिन्दू धर्म।
मधेसमा खस–आर्य जस्तै एक जातीय गठबन्धन बर्चस्वको शासन छ र रहनेछ। उता औपचारिक समारोहहरूमा “मैथिली र पाक”को प्रयोगले अह्लादित जनकपुर पुरै बौलाएको छ। मैथिली भाषा प्रति मधेसी सत्ताको रणनीतिक उपयोगबाट जनक र शिब चौक स्वभावतः खुशी छ। हिन्दू धर्मका बारेमा केही भनिरहनु परेन। के फरक रह्यो त खस–आर्य बर्चस्वको काठमाडौं अनि “पान,पाक र मखान” लाई मधेस मुक्तिको पर्याय बनाएका जनकपुरीया मानसिकताका बीच।
यस परिदृश्यको आलोकमा आजको जनकपुरले मधेसको खोजीलाई बलात् रोकेको छ। थोरै अवसरवादीहरूको स्वार्थको समागमले मूल बहसलाई बिषयान्तर गरेको छ। मूल बहस विकास र प्रगतिको तथ्यमा आधारित हुनुको साटो अरू बैगुणीहरूको प्रायोजनमा केन्द्रित भएको छ। बहस र मन्थन होस् त धरातलीय जरूरतमा होस् !

प्रतिक्रिया