अमेरिकी न्याय मन्त्रालयदेखि नासासम्म चिनियाँ ह्याकरको निशाना


रोयटर्स । अमेरिकाले चिनियाँ ह्याकरहरूले न्याय मन्त्रालय, नासा, फेडरल रिजर्भ, सिनेटलगायत संवेदनशील सरकारी निकायमा साइबर घुसपैठ तथा हमला गरेको दाबी गरेको छ।

अमेरिकी न्याय मन्त्रालयले चिनियाँ ह्याकिङ अभियानलाई विफल पारिएको जनाउँदै ह्याकिङमा प्रयोग भएका दुई प्लेटफर्मसँग सम्बन्धित डोमेन जफत गरिएको जनाएको छ।

अमेरिकी अधिकारीका अनुसार ह्याकरहरूको निशानामा ऊर्जा मन्त्रालय, स्वास्थ्य तथा मानव सेवा मन्त्रालय, राष्ट्रिय स्वास्थ्य संस्थान (ल्क्ष्ज्) तथा अमेरिका र दक्षिण कोरियाका चारवटा कम्पनीसमेत परेका थिए।

न्याय मन्त्रालयले उक्त ह्याकिङ प्लेटफर्म चीनमा आधारित नान्जिङ सिन्जिउवेई नेटवर्क टेक्नोलोजी कम्पनीले सञ्चालन गरेको जनाएको छ। कम्पनीका ग्राहकमा चीनको नागरिक गुप्तचर निकाय स्टेट सेक्युरिटी मन्त्रालय र चिनियाँ सेना पिपुल्स लिबरेसन आर्मीसमेत रहेको अमेरिकी दाबी छ।

चिनियाँ दूतावासका प्रवक्ताले भने घटनाको विस्तृत विवरणबारे आफूहरू जानकार नरहेको बताएका छन्। चीन सरकारले कानुनबमोजिम सबै प्रकारका साइबर हमलाको विरोध र नियन्त्रण गर्दै आएको उनले बताए।

अमेरिकाले साइबर सुरक्षा मुद्दालाई चीनलाई बदनाम गर्न प्रयोग गरिरहेको आरोप लगाउँदै चिनियाँ पक्षले राष्ट्रिय सुरक्षाको नाममा चिनियाँ कम्पनीमाथि विभेदपूर्ण प्रतिबन्ध लगाउने प्रयासको विरोध गर्ने जनाएको छ।

अमेरिकी अदालतमा पेश गरिएको शपथपत्रअनुसार उक्त समूहले कम्तीमा सन् २०१८ देखि अमेरिका तथा विश्वका अन्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधार र संवेदनशील नेटवर्कलाई लक्षित गर्दै साइबर हमला गर्दै आएको थियो।

सन् २०१९ अगस्टमा ह्याकरहरूले भिपिएनको कमजोरी प्रयोग गरी नासाको नेटवर्कमा प्रवेश गर्ने प्रयास गरे पनि असफल भएका थिए।