चीनद्वारा ‘इन्टरनेट उपग्रह समूह’ सफलतापूर्वक प्रक्षेपण


हेनान । चीनले सोमबार दक्षिणी द्वीप प्रान्त हैनानबाट लङ मार्च–१२ रकेट प्रक्षेपण गर्दै ‘इन्टरनेट उपग्रहहरूको १९औँ समूह’ अन्तरिक्षमा पठाएको छ ।

हैनानस्थित व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट अपराह्न ३ः४८ बजे प्रक्षेपित रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ अन्तरिक्ष निकायले जनाएको छ ।

यो सन् २०२६ मा चीनको इन्टरनेट उपग्रह कन्ष्टेलेसन अन्तर्गत भएको दोस्रो प्रक्षेपण हो । यसअघि छ दिनअघि सोही स्थलबाट १८औँ समूहका उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६–२०३०) अन्तर्गत अन्तरिक्ष क्षेत्रलाई देशको औद्योगिक प्रणाली र वास्तविक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिएको छ । उच्च कार्यक्षमता, बजारमुखी नवप्रवर्तन र ठूलो मात्रामा उत्पादन क्षमता भएका व्यावसायिक अन्तरिक्ष कम्पनीहरूले चीनको अन्तरिक्ष विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।

सोमबार प्रक्षेपित उपग्रहहरू बेइजिङस्थित व्यावसायिक कम्पनी ग्यालेक्सीस्पेसले विकास गरेको हो । उक्त कम्पनीले हालसम्म स्टारलिङ्क–जस्तै उपग्रह सञ्जाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

ग्यालेक्सीस्पेसका प्रमुख मोडेल डिजाइनर हु झाओका अनुसार नयाँ उपग्रहहरूमा कम्पनीद्वारा विकास गरिएका अत्याधुनिक प्रविधिहरू जडान गरिएको छ, जसले उत्पादन दक्षता उल्लेखनीय रूपमा बढाएको छ ।

विशेषज्ञहरूका अनुसार उक्त उपग्रह कन्ष्टेलेसनहरूले स्मार्टफोन–उपग्रह प्रत्यक्ष जडान तथा भविष्यको ६जी अन्तरिक्ष–भू सूचना सञ्जाल निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछन् ।