तालिबानद्वारा अफगानिस्तामा दश सैनिक र तीन सर्वसाधारणको हत्या
अफगानिस्तानमा तालिबान लडाकूहरुले अफगान सेनालाई लक्षित गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् ।
त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् । अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो ।
सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए ।
बम लागेर अफगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् । हाल अफगानिस्तानको सरकार र तालिबान समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ ।
उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।