सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् ।
आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्रीले भने ‘सुदूरपश्चिमको गेमचेञ्जरका रूपमा रहेको यो क्रिकेट परियोजना निर्माणका लागि प्रदेशले उच्च प्राथमिकतामा राखेको छ, थप बजेट विनियोजनका लागि सङ्घीय सरकारसँग पनि आवश्यक पहल गरिनेछ ।’ सो अवसरमा अध्यक्ष शाहीले हालसम्म भएको प्रगति विवरणबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै आगामी बजेटमा यो परियोजनालाई प्राथमिकता राख्न आग्रह गरेका थिए ।
धनगढी उपमहानगरपालिका–३ स्थित निर्माणाधीन फाप्ला क्रिकेट रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता प्राविधिक काम सम्पन्न भइसकेका छन् । पहिलो चरणमा परियोजना निर्माणका लागि रु ११ अर्ब बजेट आवश्यकपर्ने अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतिक्रिया