नेपाल–भारतबीच शैक्षिक तथा सांस्कृतिक सहकार्य विस्तारको पहल स्वागतयोग्य : अभाविप


काठमाडौँ । भारतको अखिल भारतीय विद्यार्थी परिषद् (अभाविप) ले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै देशका नेतृत्वबाट भएका पहलको स्वागत गरेको छ।

प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा शिक्षा, चिकित्सा, कृषि, प्रविधि तथा सीप विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न भएका पहलले दुवै देशका युवाका लागि नयाँ अवसर सिर्जना गर्ने परिषद्ले जनाएको छ।

परिषद्ले विज्ञप्ति जारी गर्दै नेपालमा भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) को क्याम्पस स्थापना, कानुन, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका विषयमा छात्रवृत्ति र प्रशिक्षणका अवसर विस्तार तथा शिक्षक र विषयविज्ञको आदानप्रदानसम्बन्धी पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।

त्यस्तै, व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना, लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना, कृषि अनुसन्धानका लागि भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) को उत्कृष्टता केन्द्र स्थापना तथा चिकित्सा शिक्षाका क्षेत्रमा दुवै देशका प्रमुख शैक्षिक संस्थाबीच सहकार्य विस्तार गर्ने विषयमा भएको सहमतिको पनि परिषद्ले स्वागत गरेको छ।

नेपालका बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि भारतले उपलब्ध गराएको सहयोग दुई देशबीचको पारस्परिक मैत्री र प्रतिबद्धताको उदाहरण भएको परिषद्को भनाइ छ। दुई देशबीचको यातायात सम्पर्क तथा सांस्कृतिक सम्बन्ध विस्तारमा वन्दे भारत रेलसम्बन्धी पहलले समेत नयाँ दिशा प्रदान गर्ने परिषद्ले उल्लेख गरेको छ।

प्रधानमन्त्री साहको नेपाल भ्रमणको निमन्त्रणाको प्रशंसा

परिषद्ले प्रधानमन्त्री साहले भारतीय नागरिकलाई नेपालका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक स्थलको भ्रमण गर्न दिएको निमन्त्रणाको विशेष प्रशंसा गरेको छ।
मुक्तिनाथ, पशुपतिनाथ, माता जानकीको पवित्र भूमि जनकपुर, जीवित देवी कुमारीको मौलिक परम्परा तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनका लागि प्रधानमन्त्री शाहले भारतीय नागरिकलाई गरेको आह्वानले दुई देशको साझा सांस्कृतिक सम्पदा र जनस्तरको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने परिषद्को विश्वास छ।

अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय महामन्त्री डा. वीरेन्द्र सिंह सोलंकीले नेपाल र भारतबीचको सम्बन्ध शताब्दीयौँ पुरानो सांस्कृतिक, आध्यात्मिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै शिक्षा, अनुसन्धान, नवप्रवर्तन र सीप विकासका क्षेत्रमा दुवै देशका युवाबीच सहकार्यको अथाह सम्भावना रहेको बताएका छन्।

प्रधानमन्त्री साहले भारतीय नागरिकलाई नेपालका धार्मिक तथा आध्यात्मिक स्थलको दर्शन गर्न दिएको निमन्त्रणाले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ छ।

नेपालमा आईआईटी क्याम्पस स्थापना तथा उच्च शिक्षा र व्यावसायिक प्रशिक्षणका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहल दुवै देशका युवाका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण कदम भएको सोलंकीले बताएका छन्।

दुवै देशका नेतृत्वले युवा केन्द्रित सहकार्यलाई प्राथमिकतामा राख्नु प्रशंसनीय भएको उल्लेख गर्दै परिषद्ले शिक्षा, अनुसन्धान, प्रविधि तथा सांस्कृतिक क्षेत्रमा विस्तार हुने सहकार्यले आगामी दिनमा नेपाल–भारत मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।