बंगालको खाडीमा विकसित मौसमी प्रणालीले नेपाल प्रभावित हुन सक्ने


काठमाडौँ । दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई नेपालमा समेत मौसम प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन जारी गरी पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको जनाएको हो ।

उक्त प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा विकसित हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस मौसम प्रणालीका कारण आगामी कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

यद्यपि, उक्त प्रणालीका कारण नेपालमा कति वर्षा हुने, जोखिमको स्तर कस्तो रहने र त्यसबाट कस्तो असर पर्न सक्ने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।