स्याङ्जाको हरिनासमा संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा


स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिए ।

सुरक्षित तथा संस्थागत सुत्केरी गराउन प्रोत्साहन गर्ने, मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने र घरमै हुने सुत्केरीको दरलाई शून्यमा पुर्‍याउने उद्देश्य राखिएको उनले बताए।

“गाउँघरमा आवश्यक परेका जुनसुकै बेला सवारीसाधन उपलब्ध नहुन सक्छन्, कतिपयलाई अस्पतालसम्म पुग्न सवारीसाधनको पहुँच नहुन पनि सक्छ”, उनले भने, “गर्भवतीलाई छिटो छरितो र सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षितरुपमा सुत्केरी बनाउन एम्बुलेन्स सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

हरिनास गाउँपालिका ग्रामीण र विकटमा रहेको गाउँपालिका हो । गर्भवती तथा सुत्केरीलाई लक्षित गरी गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा छन् । वडा नं ३ को मग्याम चिसापानीस्थित मग्याम चिसापानी स्वास्थ्य चौकी, वडा नं ४ को चित्रेभञ्ज्याङमा रहेको चित्रेभञ्ज्याङ स्वास्थ्य चौकी र वडा नं ६ को क्याक्मीमा अवस्थित क्याक्मी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

“घरबाट बर्थिङ सेन्टरसम्म सहज रूपमा पुर्‍याउन पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको हो”, उनले भने, “गर्भवती तथा सुत्केरीलाई नेपाल सरकारले रु दुई हजार उपलब्ध गराउँदै आएको छ ।”

हरिनाश गाउँपालिकामा हालसम्म एउटा आयुर्वेद औषधालयसहित कुल १० वटा स्वास्थ्य चौकी रहेका छन् । स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अस्पतालको भवन निर्माण भइरहेको छ ।

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरिएको छ । हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।