म्याग्दी । अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठूलो क्षति भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राहत, उद्धार तथा पुनःस्थापना कार्यका लागि आर्थिक सहयोग गर्न अपील गरेको छ।
गाउँपालिकाले बिहीबार सूचना जारी गरी असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण गाउँपालिकाभित्र ६ जनाको मृत्यु भएको र प्रारम्भिक विवरणअनुसार ६० घर पूर्ण तथा १२९ घर आंशिक रूपमा क्षति भएको जनाएको छ ।
बाढीपहिरोका कारण बेनी–जोमसोम सडकखण्डसहित गाउँपालिकाअन्तर्गतका अधिकांश सडक अवरुद्ध भएका छन्। खानेपानी, विद्युत् र इन्टरनेट सेवा समेत प्रभावित भएको गाउँपालिकाले जनाएको छ। विपद्का कारण तीन स्थानमा २५५ जनालाई अस्थायी रूपमा त्रिपाल, वडा कार्यालय तथा स्वास्थ्य चौकीमा बसोबासको व्यवस्था गरिएको छ भने करिब १५६ जना आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्।
कालिगण्डकी नदीको कटान तथा विभिन्न स्थानमा गएको पहिरोका कारण बस्तीहरू अझै उच्च जोखिममा रहेको गाउँपालिकाको भनाइ छ। हेलिकप्टरमार्फत उद्धार गरी खाद्यान्न तथा अन्य राहत सामग्री पुर्याइए पनि ती सामग्री पर्याप्त नभएको र समग्र विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोतको अभाव रहेको जनाएको छ।
गाउँपालिकाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग गर्न संघ, प्रदेश तथा स्थानीय सरकार, विभिन्न संघसंस्था, उद्यमी, व्यवसायी र इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ।


प्रतिक्रिया