म्याग्दी । गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ ।
दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ ।
निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा ठूलो क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिका-३ र ४ को सिमानामा पर्ने सुकेबगरमा निर्माणाधीन बाँधमा डाइभर्सन भत्काएर पसेको कालीगण्डकीको बाढीले गेग्रान थुपारेको छ । सो स्थानमा रहेको सुरुङको अडिटभित्र पनि बाढी पसेको छ ।
अन्नपूर्ण-२ नागढुङ्गा र रातोपानी स्थित आवासका भवनहरु भत्काउनुका साथै त्यहाँ रहेका सामग्री बाढीले बगाएको छ । नौलीबगरस्थित निर्माणाधीन भूमिगत विद्युत्गृहको अगाडि रहेको बेनी(जोमसोम(कोरला सडकको मोटरेबल पुलको पोखरेबगरतर्फको पहुँचमार्ग कालीगण्डकीको बाढीले बगाएको छ । कालीगण्डकीको बाढीले सो आयोजनाको ‘लेबरक्याम्प’ पनि बगाएर लगेको छ ।
कालीगण्डकीको बाढीका कारण आयोजनाको क्याम्प र निर्माणस्थलसँगको यातायात सम्पर्क टुटेको तथा सडक, विद्युत् र सञ्चार सुविधाको अभावमा क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको सो आयोजनाका प्रबन्ध निर्देशक गुरु ढकालले जानकारी दिए ।
त्यसैगरी बाढीपहिरोले क्षति पुर्याएपछि आयोजनाको निर्माण रोकिएको सिभिल ठेकेदार कम्पनी रसुवा(मल्टी जेभीले जानकारी दिएको छ । विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति अहिलेसम्म विना रोकतोक अघि बढिरहेकामा हालैको बाढीले अवरोध उत्पन्न गरेको छ । सुकेबगरमा १३ मिटर अग्लो र ५५ मिटर लामो बाँध बनाई चार हजार ३१९ मिटर लामो मुख्य सुरुङबाट ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण(२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
नदी प्रवाहमा आधारित प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० जमिनभित्र भूमिगत हुन् । मध्य कालीगण्डकीको विद्युत् नौनीबगरबाट देखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध हुनेछ ।
तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यसहित थालिएको आयोजनाको बाढी पहिरोका कारण निर्माण अवधि लम्बिने देखिएको छ । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रवर्द्धक र शेयर लगानीकर्तामार्फत जुटाइने छ ।
नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिददर आठ रुपैयाँ ४० पैसा र वर्षायामको दर चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा २७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।
पछिल्लो बाढी पहिरोबाट सबैभन्दा बढी यही विद्युत् आयोजना निर्माणस्थल रहेको अन्नपूर्ण गाउँपालिका प्रभावित भएको छ । छ जनाको ज्यान गएको यस गाउँपालिकामा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । अध्यक्ष भारतकुमार पुनका अनुसार प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ वटा जलविद्युत् आयोजना बन्द भएका छन् ।
अन्नपूर्ण-१ दोवाको भीरकाटे पारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण(४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरि-१, ७१ मेगावाट क्षमताको निलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।
अन्नपूर्ण गाउँपालिका-४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ । रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा माथिल्लो क्षेत्रबाट बाढी आएर गेग्रान थुप्रिएको आयोजना प्रमुख दार्शनिक काफ्लेले बताए।
प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी कोरिडोरको बेनी(जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदलयात्रा गर्न पनि जटिल बनाएको छ । बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र नौ मेगावाट क्षमताको सुपर घलेम्दीखोला जलविद्युत् आयोजनाको पनि निर्माण कार्य प्रभावित बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कालीगण्डकीको बाढीले क्षति पुर्याएकाले परीक्षण उत्पादन बन्द भएको छ ।

प्रतिक्रिया