बाढीबाट दाना–खुर्कोट प्रसारण लाइनको टावर क्षति


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ ।

प्रसारण लाइनको टावर र तार बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना बन्द भएका छन् ।

दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका वडा नं ४ को भूगोलमा पर्ने नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन् । मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् पनि केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन ।

अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरमा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि बन्द भएको छ । पछिल्लो पटक असोज ८ देखि ११ गतेको वर्षातपछि कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीले बताए ।

प्रसारण लाइनका साथै बाढीले कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकको धेरै ठाउँमा कटान गरेर पैदल यात्रा गर्न पनि जटिल बनाएको छ । बेनीदेखि पैदल यात्रा गरेर सोमबार पोखरे बगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)ले बेनी–पोखरे बगर खण्डमा थुप्रै ठाउँमा सडक भासिएको, कटान गरेको, पहिरो थुप्रिएको, विद्युत्का तार र पोलहरूमा क्षति गरेको बताए ।

बाढी पहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकाल गण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखर बगरसम्मको क्षेत्रमा रहेका टावरमा विपद्बाट क्षति पुगेको र स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थल मार्गबाट पठाएको जानकारी दिए । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति गराउने वैकल्पिक उपाय अपनाउने र प्रसारण लाइन पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय गरिएको उनले बताए ।

पुरानो ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा बाढी पहिरोले क्षति पुर्‍याएको छ । दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत् आपूर्ति गराउन प्रयास गरे पनि टावरहरूमा देखिएको समस्या पहिचान गर्न सडक यातायात र सञ्चारको समस्याले नसकिएको उनले बताए ।

बाढी पहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद भएको छ । विद्युत् अभावमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द हुँदा जनजीवन प्रभावित भएको छ । मुस्ताङसहित म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि विद्युत्, सडक र यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएका छन् ।