माइतीघरमा भोटेकोशी बाढीपीडितको धर्ना : ‘सास त दिन सकेनौ, लास देऊ’


काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता करिब ५ सय श्रमिकहरूको खोजी तथा उद्धारमा चरम ढिलासुस्ती भएको भन्दै पीडित परिवारले माइतीघर मण्डलमा धर्ना दिएका छन् ।

घटना भएको करिब एक महिना पुग्दासमेत मुख्य आवासगृह तथा कार्यालय, सुरुङ र मुख्य जोखिमयुक्त कार्यस्थलमा प्रभावकारी खोजी नभएको भन्दै बेपत्ताका आफन्तले आक्रोश व्यक्त गरेका छन् । आफूहरूले सरकार, आयोजना प्रवर्धक र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरूको भनाइ छ ।

उनीहरूले माइतिघर मण्डलमा प्रदर्शन पनि गरेका छन् । प्रदर्शनकारीहरूले आयोजना प्रवर्धक नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी प्रा. लि. र ठेकेदार डुसान इनर्बिलिटी गैरजिम्मेवार भएको आरोप पनि लगाएका छन्।

आफ्ना परिवारका मुख्य अभिभावक तथा कमाउने सदस्यहरू हराइरहेका बेला कम्पनीले खोजीमा कुनै चासो नदेखाएको पीडित परिवार सदस्य अनुपा सापकोटाको भनाइ छ । सोधपुछ गर्न जाँदा पनि विभिन्न बहाना बनाएर आलटाल गरेको र सामान्य क्षतिपूर्तिको प्रलोभन देखाएर पन्छिन खोजेको उनी बताउँछिन् ।

प्रदर्शनमा सहभागी आफन्तहरूले ‘हाम्रा मान्छे कहाँ छन् ?,’ ‘कम्पनीको लापरबाही बन्द गर,’ ‘मान्छेको सास दिन सक्दैनौ भने लास त देऊ’ जस्ता नारा लेखिएका प्लाकार्ड र ब्यानरसहित प्रदर्शन गरेका छन् ।

“कति दिन घरमा बसेर कुर्ने ? कति दिन रोएर बस्ने ? हाम्रा मान्छे जीवित छन् कि मरिसके, कम्तीमा सत्यतथ्य त थाहा पाउनुपर्‍यो,” एक पीडित महिलाले भनिन्, “कम्पनी र सरकार मिलेर घटना सामसुम पार्न खोज्दैछन्। हामीलाई पैसा होइन, हाम्रा परिवारका मान्छेको अत्तोपत्तो चाहिन्छ।”

मुख्य आवासगृह र  सुरुङभित्रै हराई रहेका  छन् ठूलो सङ्ख्याका श्रमिक

आफन्तहरूका अनुसार बाढी आउने समयमा आयोजनाको मुख्य कार्यालय, मुख्य सुरुङ र पावरहाउस निर्माण क्षेत्रमा ठूलो सङ्ख्यामा कामदारहरू खटिएका थिए। बाढीले सुरुङका मुखहरू पुरिएकाले भित्र धेरै मानिसहरू थुनिएको आशङ्का गरिएको छ।

आयोजनाको मुख्य कार्यालय र आवासगृहमा धेरै श्रमिक तथा प्राविधिकहरू पुरिएको आशंका परिवारजनको छ । बाढीपछि यति लामो समय बितिसक्दा पनि आधुनिक उपकरण, उच्च प्रविधि र सुरक्षा निकायको पर्याप्त टोली परिचालन गरी सुरुङभित्र खोजी अभियान चलाउन कम्पनी र सरकार असफल भएको आरोप पीडित परिवारको छ ।

दिनहुँजसो रसुवास्थित आयोजना स्थल र  प्रवर्द्धक कम्पनी नेपाल वाटर एण्ड ईनर्जी एण्ड डेभलपमेन्ट कम्पनी तथा मुख्य ठेकेदार दुसान ईनर्बिलिटीको कार्यालय धाउँदा पनि कुनै ठोस परिणाम नआएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् । पीडित परिवारले तत्काल उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न, खोजी कार्यलाई २४ सै घण्टा तीव्र बनाउन र दोषी कम्पनी तथा ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन् ।