पर्यटकलाई विभिन्न जानकारी दिने उद्देश्यले पोखरामा ‘क्युआर कोड’ सञ्चालनमा


काठमाडौँ । पर्यटकीय क्षेत्रको चिनारीसँगै सुरक्षित यात्राका लागि पर्यटकलाई विभिन्न जानकारी दिने उद्देश्यले पोखरामा ‘क्युआर कोड’ सञ्चालनमा ल्याइएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा सुरु गरिएको उक्त ‘क्युआर कोड’ मार्फत पर्यटकले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण र भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा लागि ‘क्युआर कोड’ ले सहयोग पुर्‍याउने बताए । पर्यटकहरूको सुरक्षामा प्रहरी संवेदनशील रहेको जनाउँदै उनले होटेल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताए । ‘क्युआर कोड’ जस्ता सूचना प्रविधिका माध्यमका सहायताले पर्यटकको यात्रा सहज र सुरक्षित बन्ने उनको भनाइ छ । व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने उनले बताए ।