कांग्रेसको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ  । यस महाधिवेशनमा कूल सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने छन् ।

पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । 

त्यस्तै मध्यान्ह १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारीका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी सङ्ख्या १४ बाट बढाएर २६ पुर्याएको छ ।

कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पुर्याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।

त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।