राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छः उपाध्यक्ष सापकोटा



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्नेमा जोड दिएका छन् ।

मार्क्सवादी ज्ञान केन्द्रले शनिबार आयोजना गरेको ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ शोध ग्रन्थमाथिको पृष्ठपोषण कार्यक्रममा उनले राष्ट्रिय दृष्टिकोण निर्माणमा दलहरूबीच बहस हुन नसक्नु दु:खद् भएको बताए ।

पूर्वसभामुख सापकोटाले समाजवाद नै अहिलेको सर्वोत्कृष्ट राजनीतिक व्यवस्था भएकाले राष्ट्रिय पुँजीको विकास गरेर त्यसतर्फको यात्रा अघि बढाइनुपर्नेमा जोड दिए ।

उनले भने, “संविधानसभाबाट जारी संविधानमा समाजवादोन्मुख राज्य व्यवस्था हुने भनेर उल्लेख गरिएको छ, यो ठूलो उपलब्धि हो, अब संविधानमा टेकेर वैज्ञानिक समाजवादका लागि संघर्ष गर्नुपर्छ ।”

राजनीतिक परिवर्तन पछाडि जनअपेक्षाअनुसार आर्थिक सामाजिक रूपान्तरण नभएको स्विकार्दै उनले गणतन्त्र र राजतन्त्रबीच कुनै हालतमा तुलना गर्न नमिल्ने बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले राष्ट्रिय मुद्दामा पक्ष–विपक्ष नभई दलहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

“परराष्ट्र नीति, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारीका एजेण्डामा साझा संकल्प गर्न सक्यौँ भने मात्र मुलुकको समृद्धि सम्भव छ”, उनले भने । जनअपेक्षा पूरा गर्न सन्तुलित र समानुपातिक विकासको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले काँग्रेसले समाजमा देखिएको नैराश्यताको गम्भीर अध्ययन आवश्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सचिव सावित्राकुमारी भुसालले राजनीतिक परिवर्तनपछाडिको आर्थिक तथा सामाजिक अवस्था प्रगति पथमा रहेको उल्लेख गर्दै बहुदलपछि नवउदारवादको नक्कल गरेर राष्ट्रिय उद्योगधन्दा निजीकरण गर्दा मुलुकले दुर्दशा भोगिरहेको बताइन् ।

बाग्मती प्रदेशसभा सदस्य इन्द्र गौतमले गणतन्त्रको स्थापनापछि मुलुकले फड्को मारेको जनाउँदै गणतन्त्र अघि र पछिको अवस्थाबारे तुलनात्मक अध्ययन गरेर शोध ग्रन्थ प्रकाशन गर्दा राजनीतिक परिवर्तनपछिको उपलब्धिको दस्तावेजीकरण हुने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चन्द्रमणि अधिकारीले नागरिकको चेतना र खुलापनले अहिलेको आर्थिक र सामाजिक उपलब्धिलाई लिएर चित्त बुझाउने अवस्था नरहेको बताए ।

“हिजोसँग तुलना गर्दा ‘छलाङ’ मारेका हौँ, तर यतिले मात्र पुगेको छैन भनेर स्वीकार गर्नुपर्छ”, उनले भने, “अब मुलुकको नेतृत्व गर्ने दायित्व नयाँ पुस्ताको हो भनेर सिकाउनुपर्छ ।”

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालमुकुन्द रेग्मी र नेपाल खुला विश्वविद्यालयका उपप्राध्यापक रुमा मानन्धरले गणतन्त्रपछि मुलुकले धेरै क्षेत्रमा प्रगति हासिल गरिरहेको उल्लेख गर्दै अब समाजवादी विकासको मोडल अपनाउनुपर्नेमा जोड दिइन् ।

केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले गणतन्त्र अगाडि र पछाडिको नेपाल आर्थिक तथा सामाजिक विकासको अवस्थाबारे आम नागरिकलाई जानकारी दिन शोध ग्रन्थ तयार गर्न लागिएको जानकारी दिए । शोध ग्रन्थ अनुसन्धान संयोजक डा. निमानन्द रिजालले गणतन्त्र घोषणापछि वैदेशिक ऋणको अनुपात घटेको, आन्तरिक तथा बाह्य लागनी, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षालगायत आधारभूत सुविधाको पहुँच अभिवृद्धि भएको तथ्यांक प्रस्तुत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई श्रम ऐनले विभेद गरेको छैनः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

प्रधानमन्त्रीसँग जापानका उपपरराष्ट्रमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले शनिबार शिष्टाचार भेट

मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला गर्यौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमत सरकार

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले शिष्टाचार भेटवार्ता